राष्ट्रिय खेलकुद : जुडोको मिक्स टिममा आर्मीलाई स्वर्ण

जुडोको मिक्स टिम स्वर्ण विजेता आर्मी टोली ।

काठमाडौं (खेलदैनिक) । आठौंअन्तर्गत १६ औं राष्ट्रिय जुडोको तेश्रो तथा अन्तिम दिन मंगलबार मिक्स टिम इभेन्टमा आर्मीले स्वर्ण जितेको छ । प्रहरी दोश्रो तथा प्रदेश ५ ले तेश्रो स्थान हासिल गर्यो ।

एक टिममा ६–६ खेलाडीले एक आपसमा प्रतिस्पर्धा गरेका थिए । त्यसम आर्मी र प्रहरीबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो । स्कोरअन्तरका आधारमा आर्मी अगाडि रह्यो । आर्मीबाट पुरुषमा जंगबहादुर सारु, पवन श्रेष्ठ र शिव बराम तथा महिलामा सुमित्रा राई, निर्मला घर्ती मगर र पुनम श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । पुरुषमा सन्जित डंगोल, श्रीराम मकाजु र रविन श्रेष्ठ तथा महिलामा मनीता श्रेष्ठ प्रधान, भावना घर्ती मगर र निशा चौधरीले खेलेका थिए ।

प्रहरी च्याम्पियन बन्यो । १५ स्वर्णका लागि भएको प्रतिस्पर्धामा आर्मीले ७ स्वर्ण, ५ रजत र ३ कांस्य जित्यो । दोश्रो भएको आर्मीले ६ स्वर्ण, ४ रजत ४ कांस्य हात पा¥यो । १ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ प्रदेश ५ तेश्रो भयो । बाँकी १ स्वर्ण एपीएफले हात पा¥यो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

बास्केटबल : प्रदेश ३ दोहोरो उपाधिनजिक

आठौंअन्तर्गत राष्ट्रिय बास्केटबको पुरुष÷महिला दुवैमा प्रदेश ३ फाइनलमा प्रवेश गरेको छ । दाङको घोराहीमा भइरहेको प्रतियोगिताको पुरुषमा प्रदेश ३ ले प्रदेश ४ लाई ९३–६३ ले पराजित ग¥यो । प्रदेश ३ को जितमा विनोद श्रेष्ठले २० अंक योगदान गरे । फाइनलमा प्रदेश ३ को भेट आर्मीसंग हुनेछ । अर्को सेमिफाइनलमा आयुश सिंहको १९ अंक सहयोगमा आर्मीले नेपाल प्रहरीलाई ८५–७१ ले हरायो ।

महिलामा प्रदेश ३ ले आर्मीमाथि ३९–२३ को जित दर्ता ग¥यो । प्रदेश ३ की एलिना गुरुङले ९ अंक जोडिन् । उपाधिका लागि प्रदेश ३ ले प्रहरीसंग भिड्ने छ । प्रहरीले सुदूरपश्चिमलाई ५५–४४ ले पाखा लगायो । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।

कबड्डी : आर्मी र प्रदेश ५ भिड्ने

आठौंअन्तर्गत राष्ट्रिय कबड्डीको पुरुषमा आर्मी र प्रदेश ५ उपाधिका लागि भिड्ने भएका छन् । बर्दियाको बाँसगढी कबड्डी एकेडेमीमा भएको सेमिफाइनलमा आर्मीले गण्डकीलाई ३८–२१ तथा प्रदेश ५ ले एपीएफलाई ३५–२८ ले पराजित गरे ।

महिलामा आर्मी र प्रहरी फाइनलमा पुगे । आर्मीले सुदूरपश्चिम प्रदेशलाई ४९–१७ तथा प्रहरीले प्रदेश ५ लाई ३४–२४ ले हराए । फाइनल बुधबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...