जुडोमा नेपाललाई दुई कास्य पदक

काँस्य पदक जितेका नेपालका जुडो खेलाडी इन्द्र श्रेष्ठ र उमेश मगर पदक र नेपालको झण्डासहित तस्विर खिचाउँदै ।

काठमाडौं (खेलदैनिक) । थाईल्याण्डमा जारी थाईल्याण्ड ईन्टरनेशनल नर्थ बेङ्गकक युनिभर्सिटी जुडो च्याम्पियनसिप २०१७ मा नेपाली खेलाडीद्वय इन्द्रबहादुर श्रेष्ठ र उमेश मगरले कास्य पदक प्राप्त गर्न सफल भएका छन् ।

ईन्द्रले ६६ केजीमा ९ राष्ट्रको सहभागिता रहेको खेलमा फिलिपिन्सका मेरालेस नाथानिईललाई २.२० सेकेन्डमा वाजारी र ईप्पोनमा पराजित गर्दै कास्य पदक प्राप्त गर्न सफल भएको प्रशिक्षक सुर्य नारायण श्रेष्ठले जनाएका छन् ।

ईन्द्रले पहिलो चरणमा आयोजक थाईल्याण्डका फुयनसुक कवेतलाई १.२२ सेकेन्डमा वाजारी ईपोन स्कोरमा पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका थिए । क्वाटरफाईनलमा हङकङका खेलाडी चोईसिङ्ग योङ्गलाई वाजारी ईपोनमा पराजित गरेका थिए भने सेमिफाईनलमा युएईका खेलाडी ओक्सिवाई अलिखानसँंग पुरा समय खेल्दै वाजारीको आधारमा पराजित भएका थिए ।

यस्तै ६० केजीमा उमेश मगरले क्यामरुनका खेलाडीसंग पराजित हुंदै काँस्य पदक प्राप्त गर्न सफल भए । उनले पहिलो चरणको खेलमा थाईल्याण्डका खेलाडए जाईवान कुराकोरनलाई वाजारी इपोनमा पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका थिए ।

क्वाटरफाईनलमा भियतनामी खेलाडी न्गुयन होङ्ग संग गोल्डेन स्कोरमा पराजित भई रिपाचेजमा थाई खेलाडीबाट वाकओभर प्राप्त गर्दै क्यामरुनका खेलाडीसंग प्रतिस्पर्धा गरेका थिए । क्यामरुनका खेलाडी संग पुरा समय प्रतिस्पर्धा गर्दा १ सिदो पाएका उनले गोल्डेन स्कोरमा अर्को सिदो पाउंदा खेललाई आफ्नो हातबाट फुस्काएका थिए ।

यसैगरि महिला ५७ केजीमा मनिता श्रेष्ठ प्रधान थाईल्याण्डकी खेलाडी वारासिहा युरिकोसंग ईपोनमा पराजित भएको प्रशिक्षक श्रेष्ठले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस

Loading...