आईडब्लुएफन अन्तर्राष्ट्रिय कराते सुरु

आईडब्लुएफएन अन्तर्राष्ट्रिय करातेमा प्रतिस्पर्धा गर्दै नेपाली पुरुष खेलाडी ।

काठमाडौं (खेलदैनिक) । आईडब्लुएफएन कराते डो संघको आयोजनामा प्रथम आईडब्लुएफएन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन नेपाली खेलाडीबीच विभिन्न स्पर्धामा प्रतिस्पर्धा भएको छ । पुरुषको ३० केजीमा गोमन गिरीले सोनाम लिम्बू तथा विशाल शाहले सन्देश गुरुङलाई पराजि गर्दै सेमिफाइनलमा पुगे । ४० केजीमा सुविन सुनुवारले रविन श्रेष्ठ तथा राजन ब्लोन तामाङले अरुण मगरलाई हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

त्यस्तै पुरुषको ४५ केजीमा आकाश मण्डल र सरोज लामा, ३५ केजीमा आर्यामान भण्डारी र सुरेन्द्र तामाङ तथा २० केजीमा रमेश अर्याल र अपिल पौडेल सेमिफाइनलमा पुगे ।
महिलाको २५ केजीमा इशारा मगरले खुशी मण्डल तथा दीपा राईले मनीता घलेलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

प्रतियोगितामा नेपालबाट १ सय ३५ पुरुष र ७० महिला, भुटानबाट ९ पुरुष तथा भारतबाट १ सय ४० पुरुष र ३० महिला गरी जम्मा ३ सय ८४ खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव उपेन्द्र शाहले जनाएका छन् । बंगलादेशको टिम आइतबार आउने बताइएको छ । दुईदिने प्रतियोगितामा २९ स्पर्धा समावेश छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...