मेलिनालाई स्वर्ण

नेपालकी मेलिना मगरले दोश्रो आईएमए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको महिला ५५ केजीमा शनिबार स्वर्ण जितेकी छन् ।अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ नेपालद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मेलिनाले नेपालकी मनीषा चौधरीलाई पराजित गरिन् । नेपालका शान्ता श्रेष्ठ र सिर्जना महर्जन तेश्रो भए ।

त्रिपुरेश्वरिस्थत राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ५५ केजीको उपाधि विजय श्रेष्ठले जिते । उनले फाइनलमा नेपालका आशिष लामालाई हराए । नेपालका सोनाम लामा र सन्देश लामा संयुक्त रुपमा तेश्रो बने ।

महिला ६१ केजीमा नेपालकी रुपा महर्जन पहिलो भइन् । रुपाले उपाधि भिडन्तमा नेपालकी अनु गुरुङको चुनौती समाप्त पारिन् । नेपालका सोनी मोक्तान र एस्टर राई तेश्रो स्थानमा रहे ।

पुरुष ५० केजीको फाइनलमा नेपालका नवराज श्रेष्ठले नेपालकै मनीष थापालाई पाखा लगाउदै स्वर्ण चुमे । नेपालका विक्रम तामाङ र प्रिन्स स्याङतान तेश्रो भए । पुरुष ६० केजीको फाइनलमा नेपालका सुजन श्रेष्ठले बाजी मारे । उनले फाइनलमा नेपालका गणेशलाई निराश पारे । नेपालका सञ्जयबहादुर थापा र राविज पुडासैनी तेश्रो भए ।

प्रतियोगिताको पूर्व प्रधानमन्त्री झलनाथ खनालले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा नेपाल र भारतबाट ३ सय १० खेलाडीले विभिन्न ४७ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक संघका संरक्षक एवं अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ, अमेरिकाका दक्षिण एसियाली प्रमुख शान्त ठोकरले जनाएका छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...