नेपालका सुमनलाई स्वर्ण पदक

काठमाडौं (खेलदेनिक) । नेपालका सुमन भोलनले आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ८४ केजीमुनि फाइनलमा सुमनले नेपालकै शिभम् श्रेष्ठलाई पराजित गरे । भारतका हरि राम र चैतन्य शर्माले तेश्रो स्थानमा चित्त बुझाए ।

प्रतियोगिताको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबीच उद्घाटन गर्दै प्रतियोगिताको पहिलो संस्करण पनि आफैले उद्घाटन गरेको स्मरण गरे । उनले खेल क्षेत्र मानविय, सामाजिक र राजनैतिक जीवनमा अत्यन्तै महत्वपूर्ण भएको भन्दै जुनसुकै राष्ट्रको विकासको मापन गर्ने मापदण्ड खेलकुद भएको बताए ।

पूर्व प्रधानमन्बी दाहालले कुनै देशको आर्थिक क्षेत्रको विकासको माध्यम पनि खेल क्षेत्र नै भएको बताउदै राष्ट्रिय एकता तथा अन्तराष्ट्रिय भाईचाराको निर्माण गर्ने माध्यम पनि खेल क्षेत्र भएको धारणा व्यक्त गरे । उनले खेलकुद क्षेत्रको विकासका लागि उर्जासिल तथा खेल क्षेत्रमा विज्ञता हासिल गरेका युवाहरुलाई रोज्ने गरेको र त्यसबाट खेलकुदको समग्र विकास गर्दै यसैको माध्यमले आर्थिक र सम्बृद्ध राष्ट्र बनाउनेमा आफु बिश्वस्त रहेको बताए ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले ३६५ दिननै राष्ट्रिय टिम तयारी सञ्चालन गर्ने योजना परिषद्ले बनाएको बताउदै कराते खेलले राष्ट्रको नामलाई उच्च राख्दै आएको बताए । उनले १७ औं एसियाली खेलकुदमा करातेबाट विमला तामाङले राखेको ईतिहासलाई करातेले पुनः कायम गर्ने गरी सम्बन्धित निकायले वातावरण श्रृजना गर्नु पर्नेमा जोड दिए ।

नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र भुटान गरी ४ राष्ट्रको सहभागिता रहेको आयोजक डोजोका प्रमुख गजेन्द्रबहादुर खपाङ्गीले जनाएका छन् । विभिन्न २७ स्पर्धामा १ हजार खेलाडी सहभागी भएको बताइएको छ । प्रतियोगिता आइतबार सम्पन्न हुने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...