प्रवीण र संगितालाई स्वर्ण

काठमाडौं (खेलदैनिक) । नेपाल आर्मीका प्रवीण मानन्धर र संगिता राईले गणेशमान सिंह फाउण्डेसन राष्ट्रिय कराते प्रतियोगिताको एकल काता स्वर्ण जितेका छन् ।

बलुम्बुस्थित डिबी पार्टी भेन्युमा भएको फाइनलमा प्रवीणले प्रदेश १ का विवेक राई तथा संगिताले बाग्मतीकी सन्जु देशासलाई पराजित गरे ।

गणेशमान सिंह फाउन्डेसन र नेपाल सितोरियो कराते संघ, शाखा डोजो सतुङ्गलद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष टिम कातामा आर्मी पहिलो, गण्डकी दोश्रो तथा कर्णाली र बाग्मती तेश्रो भए । सो स्पर्धाको महिलामा आर्मी पहिलो, गण्डकी दोश्रो तथा लुम्बिनी र बाग्मती तेश्रो बने ।

पुरुष ५० केजीमुनि गण्डकीका बुद्ध लामा पहिलो भए । उनले फाइनलमा प्रदेश १ का धनकुमार राईलाई हराए । ६७ केजीमुनि प्रदेश १ का रोहित बाँस्कोटाले आर्मीका किरण पुन मगरलाई पाखा लगाउदै शीर्ष स्थान हात पारे । महिला ६८ केजीमाथि आर्मीकी निरुपा तामाङ पहिलो भइन् । निरुपाले फाइनलमा बाग्मतीकी सोनिया मोक्तानलाई पन्छाइन् ।

प्रतियोगिताको पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले एक कार्यक्रमबीच उद्घाटन गरे । सात प्रदेश र आर्मीका १ सय ८४ खेलाडीले विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...