एशियाडमा भिड्ने कराते खेलाडी भन्छन “करातेमा हामी निराश बनाउने छैनौ”

पोखरा (खेलदैनिक) । इण्डोनेशियामा हुने १८ औ एशियाली खेलमा नेपालको तर्फबाट कराते खेलका ८ जना खेलाडी र २ जना प्रशिक्षक पोखरामा बन्द प्रशिक्षणमा व्यस्त रहेका छन । उनीहरुको एक मात्र उद्देश्य यशियाडमा पदक जित्नु हो । त्यसैले पनि उनीहरु निर्धक्क भन्छन कराते खेल बाट हामी निराश पार्ने छैनौ ।

प्रशिक्षणमा व्यस्त मध्ये एक खेलाडी परशुराम बास्तोला २२ वर्ष देखि लगातार कराते खेलिरहेका छन । १७ औ एशियाडमा ५ औ स्थान हासिल गरेका उनी यस पटक पदक प्राप्त गर्ने आशाका साथ प्रशिक्षणमा व्यस्त छन । उनी ११ औ दक्षिण एशियाली खेलकुद (साग) मा काँश्य पदक बिजेता समेत हुन । उनले १८ औ एशियाडमा व्यक्तिगत काता तर्फ खेल्दै छन ।

कातातर्फ महिला तर्फकी खेलाडी चञ्चला दनुवार १५ वर्ष देखि खेलिरहेकी छन । यस पटक बन्द प्रशिक्षणको अवधी छोटो भए पनि आफु पदक जित्नेमा विश्वस्त रहेको उनले बताइन ।

१२ वर्ष देखि करातेको कुमुतेमा खेल्दै आएकी अनु अधिकारी ५५ केजी मुनीको तौल समुह बाट एशियाडमा सहभागिता जनाउँदै छिन । उनी ११ औ सागमा रजत पदक समेत जितेकी थिईन् । १७ औ एशियाडमा उनले सहभागिता जनाएकोले पनि आफु यस पटक पदक प्राप्त गर्ने लक्ष्यका साथ रिङ्गमा उत्रिने बताइन ।

बन्द प्रशिक्षणमा ब्यस्त मध्येका दिवश श्रेष्ठ सागका तिन पटकका गोल्ड मेडलिष्ट हुन । उनी भन्छन– ‘नौ वर्ष भयो खेल्न थालेको त्यसमा १७ औ एशियाडमा समेत म पाँचौं स्थानमा आउन सफल भएको थिएँ । यस पटक पक्कै मेडल ल्याउनेमा ढुक्क छु ।’ यस अघि उनले दुवइ वोदोकान, अष्ट्रेलियन ओपन र थाइलैण्ड ओपनमा समेत मेडल ल्याएका छन ।

साग खेलमा दुइ पटकका गोल्ड मेडलिष्ट श्रेष्ठ कुमुतेका तर्फका प्रशिक्षक हुन । २०५४ साल बाट लगातार करातेमा व्यस्त श्रेष्ठ यति बेला सम्पुर्ण ध्यान प्रशिक्षणमा नै रहेको बताए । उनी भन्छन– “हामी मेडलको टार्गेट प्राप्त गर्ने दिशातर्फ अघि बढेका छौं ।” उनले खेलाडीहरुलाई स्वदेशमा कम र विदेशमा बढी समय प्रशिक्षणमा राख्नुपर्ने बताए । ‘खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिन सक्ने हो भने पदकको सम्भावना रहने उनको भनाई छ ।’ उनले पोखरामा राम्रो प्रशिक्षण भइरहेको समेत बताए ।

देशले यति बेला करातेबाट धेरै अपेक्षा गरेको बताउँदै प्रशिक्षक श्रेष्ठले युरोप वा जापानमा खेलाडीलाई प्रशिक्षणमा पठाउन चाहेको बताए । युरोपमा पठाइयो भने खेलाडीले धेरै सिक्ने अवसर प्राप्त गर्ने र त्यहाँका राष्ट्रिय खेलाडीसँग पनि खेल्ने मौका पाउने उनले बताए । उनले अन्य देशको दाँजोमा नेपालको प्रशिक्षण अवधी कम भए पनि पदकको आश गरेको बताए । उनले भने – “उनीहरु ४ वर्ष देखि प्रशिक्षणमा छन हामी ४ महिनाको प्रशिक्षणमा ।”

एक साता देखि प्रशिक्षणमा व्यस्त कातातर्फका प्रशिक्षक हिरा सिंह डंगोल पोखराको वातावरणमा खेलाडीले प्रशिक्षण लिने मौका पाउनु सुखद रहेको बताए । इण्डोनेशिया र पोखराको हावा पानीमा खासै फरक नपर्ने भएकोले पनि पोखरालाई रोजिएको बताए । उनी राष्ट्रिय खेलकुद परिषद प्रशिक्षण तथा तालिम विभागमा समेत कार्यरत छन ।

नेपालमा २०३९ सालमा स्थापना भएको कराते खेल १९९४ को १२ एशियाली खेलकुदमा काश्य पदक प्राप्त गरेको थियो । सिता राइले उक्त पदक ल्याएकी थिइन । थाइलैण्डमा सम्पन्न १६ औ एशियाडमा सम्मर बहादुर गोलेले रजत पदक र इन्चोइनमा सम्पन्न १७ औ एशियाडमा बिमला तामाङले रजत पदक ल्याएकी थिइन ।


प्रतिक्रिया दिनुहोस

Loading...