धनगढीमा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने

पत्रकार सम्मेलनमा प्रतियोगिताको बारेमा जानकारी गराउंदै संघका अध्यक्ष गणेश कार्की तथा अन्य पदाधीकारी ।

धनगढी (खेलदैनिक) । सुदूरपश्चिमाञ्चलको धनगढीमा आयोजना हुन गईरहेको आठौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आउँदो पौष महिनामा हुने भएको छ ।

नेपाल गोजुरियो कराते डो युजेनकाई संघको आयोजनामा हुने प्रतियोगितामा नेपाल सहित भारत, भुटान, बंगलादेश, श्रीलङका र पाकिस्तानका गरि करिव ७५० खेलाडीहरुले प्रतिस्पर्धा गर्नेे राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकल जनाएको छ ।

तीन विभागिय टोली नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबल तथा पाँच विकास क्षेत्रका खेलाडीहरुको समेत सहभागिता रहने प्रतिस्पर्धामा हालै सम्पन्न ५० औं राष्ट्रिय कराते प्रतियोगितालाई खेलाडी छनोटको आधार लिईएको संघका महासचिव प्रकाश कुमार चन्दले बताए । जसमा आयोजक सुदूरपश्चिमाञ्चलको दुई टिमले सहभागिता जनाउने छन् ।

४२ स्वर्ण पदकका लागि लागि हुने प्रतियोगितामा उमेर समूह अन्तरगत ७ बर्ष देखि १८ बर्ष उमेर सम्मका र तौल समूहमा ४५ केजी माथीको अन्तर्राष्ट्रिय नियमानुसारको तौलमा प्रतिस्पर्धा गराईने आयोजकले जनाएको छ ।

२३ लाख ५० हजारको लागत रहेको प्रतियोगितामा टिम कुमुते तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार नगद प्राप्त गर्ने र अन्य विजयी खेलाडी तथा टिमले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने सचिव चन्दले बताए ।

स्वस्थ, निश्पक्ष र विवाद रहित तवरले प्रतियोगितालाई सम्पन्न गर्नका लागि एशियन कराते महासंघबाट मान्यता प्राप्त निर्णायकहरुको उपस्थितीमा प्रतियोगिता सम्पन्न गरिने छ ।

करातेको सफलताको लागि शुभकामना व्यक्त गर्दै संघका सल्लाहकार अतिरिक्त प्रहरी महानिरीक्षक जय बहादुर चन्दले लागु औषधको कुलत तथा गलत बाटोबाट देशका युवाहरुलाई जोगाउने राम्रो माध्ययम खेलकुद भएको भन्दै अनुशासित नागरिक उत्पादन गर्न खेलकुदको विभिन्न विधाको विकास हुनु जरुरी रहेको बताए ।

प्रतियोगिता पौष १२ देखि १४ गते सम्म सुदूरपश्चिमको धनगढीमा आयोजना हुने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...