राष्ट्रिय कराते च्याम्पियनसिप शुरु, अनु र मल्लिकालाई स्वर्ण (फोटो फिचर्स)

काठमाडौं (खेलदैनिक) । नेपाल कराते महासंघको आयोजनामा बिहीबार सुरु भएको ५० औं राष्ट्रिय कराते च्याम्पियनसिपको महिलातर्फ नेपाली एपिएफ क्लबकी अनु अधिकारी र पुलिसका मल्लिका थापाले स्वर्ण पदक जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कबर्डहलमा प्रतियोगिताको पहिलो दिन कुमुतेको महिलातर्फ दक्षिण एसियाली खेलकुद (साग) की रजत पदक जितेकी अनु ५० केजी तौल समूहमा स्वर्ण जित्न सफल भएकी हुन् ।

अनुले पश्चिमाञ्चलकी उर्मिला दर्लामीलाई ११–२ ले हराइएकी थिइन् । २ मिनेटको बाउटमा अनुले विपक्षी खेलाडीलाई कुनै पनि समय मौका दिएनन् ।

करातेको राष्ट्रिय टिम निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा स्वर्ण हात पारेसँगै अनुले राष्ट्रिय टिममा स्थान बनाईन् । पूर्वाञ्चलकी प्रिति बस्नेत र पुलिसकी कोपिला विष्टले कास्य जितिन् ।

यस्तै महिला ५५ केजी तौल समूहमा नेपाल प्रहरीकी मल्लिकाले फाइनलमा एपिएफ क्लबकी मनिषा चौधरीलाई १०–२ ले हराइन् । जितसँगै मल्लिकाले पनि राष्ट्रिय टिममा स्थान बनाईन् । पशिचमाञ्चलकी अन्जली विक र पूर्वाञ्चलकी विद्याकला राईले कास्यपदक हात पारिन् ।

यस्तै पूरुष ४५ केजी तौल समूहको कुमुतेमा नेपाली सेनाका आकाश पालले स्वर्ण जिते । आकाशले पश्चिमाञ्चलका बलराम अधिकारीलाई ११–४ को स्कोरले हराए । आकाशले पनि राष्ट्रिय टिममा स्थान बनाए । सुदुरपश्चिमका सागर विक र मध्यपश्चिमका सुरज नेपाली तेस्रो भए ।

पूरुष ५० केजी तौलसमूहमा नेपाली सेनाका मनि कुमार सुनुवारले स्वर्ण जित्दै राष्ट्रिय टिममा स्थान बनाए । मनिले नेपाल प्रहरीका सोनाम लामालाई प्रतिस्पर्धात्मक खेलमा ९–८ ले हराए । एपिएफका लक्ष्मण तामाङ र पूर्वाञ्चलका विवेक थापाले तेस्रो स्थान हात पारे ।

पूरुष ६० केजी तौल समूहमा नेपाल पुलि क्लबका रविन्द्र कार्कीले स्वर्ण जिते । रविन्द्रले पूर्वाञ्चलका सन्तोष राईलाई १२–५ को स्कोरमा पराजित गरे । सेनाका सनि चौलागाई र सुदुपश्चिमका दिनेश पनेरु तेस्रो भए ।

पुरुष एकल कातामा आर्मीका परशुराम बास्तोलाले स्वर्ण जिते । एपिएफका गुवि राम घले दोस्रो तथा मध्यमाञ्चलका यानोज महर्जन र पुलिसका मण्डेकाजी श्रेष्ठले तेस्रो स्थान हात पारे । महिला एककातामा नेपाल पुलिसकी निर्मला तामाङ पहिलो भईन् । पश्चिमाञ्चलकी बिमला नेपाली दोस्रो तथा मध्यपश्चिमकी एलिना थापामगर र मध्यमाञ्चलकी ज्योती गिरी तेस्रो भईन् ।

टिम काताको पुरुषतर्फ नेपाली सेनाको टिम पहिलो बन्यो । सुदुर पश्चिम दोस्रो तथा नेपाल एपिएफ क्लब र मध्यमाञ्चल तेस्रो भयो । महिला टिम कातामा नेपाल पुलिस क्लब पहिलो, मध्यमाञ्चल दोस्रो तथा नेपाल एपिएफ क्लब र सुदुर पश्चिमले तेस्रो स्थान हात पारे ।

हरेक विधाका स्वर्ण पदक विजेता राष्ट्रिय टोलीका लागि छनोट भएका छन् । दुई दिनसम्म चल्ने प्रतियोगितामा ५ क्षेत्र र ३ विभाग गरि ८ टोलीको सहभागिता रहेको छ । महिलामा ७ र पुरुषमा ८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

पुरुष÷महिलाको एकल र टिम काता तथा टिम फाइटमा पनि खेल हुनेछ । सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २३ खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गरिने छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...