ललितपुर र काठमाडौंलाई उपाधि

राष्ट्रिय पारा गोलबल उपाधि विजेता ललितपुर र काठमाडौं टोली सामूहिक तस्वीर खिचाउदै ।

काठमाडौं (खेलदैनिक) । ललितपुर र काठमाडौं पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा गोलबल प्रतियोगितामा बुधबार पहिलो भएका छन् । ललितपुर पुरुष तथा काठमाडौं महिलामा पहिलो भएका हुन् ।

राष्ट्रिय दृष्टिविहीन खेलकुद संघको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा ललितपुरले भक्तपुरलाई १७–९ गोलले पराजित गर्यो । काठमाडौं तेश्रो भयो ।

बाग्डोलस्थित काठमाडौं फुटसलमा भएको महिलाको उपाधि भिडन्तमा काठमाडौंले ललितपुरलाई ५–० गोलले हरायो । दुवै समूहका विजेता र उपविजेताले समान १०–१० हजार नगद पुरस्कार प्राप्त गरे । पुरुषमा तेश्रो भएको काठमाडौंले ५ हजार नगद पुरस्कार पायो ।

विजेतालाई राष्ट्रिय पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, दृष्टिविहीन कल्याण संघका महासचिव पवन घिमिरे, ललितपुर महानगरपालिका महिला विकास महाशाखाकी प्रमुख महेश्वरी विष्ट रावल, राष्ट्रिय दृष्टिविहीन खेलकुद संघका अध्यक्ष उपेन्द्र श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पारा राष्ट्रिय खेलकुदमा विभिन्न १२ खेलको स्पर्धा समावेश गरिएको छ । जेठ १५ गतेसम्म बाँकी ११ खेलका प्रतिस्पर्धा सम्पन्न हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागकी प्रशासकीय अधिकृत दीपा बाँस्तोलाले जानकारी गराइन् ।


प्रतिक्रिया दिनुहोस

Loading...